काठमाडौं । लगातार दुई दिनको उच्च गिरावटपछि सोमबार दोहोरो अंकले बढेको शेयर बजार मंगलबार पुन ओरालो लागेको छ । गत बिहीबार र आइतबार गरेर दुई दिनको अवधिमा ७० अंकले घटेको नेप्से सोमबार १२ अंकले बढेको थियो । तर, मंगलबार भने झण्डै २० अंकले ओरालो लागेको छ।
मंगलबार बजार मापक नेप्से परिसूचक १९.८९ अंकले घटेर २७ सय ४१ दशमलव ९७ विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । सोमबार ५ अर्ब १० करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.९६ प्रतिशत घटेको छ। अरु उपसमूहहरुको गिरावट दर भने १ प्रतिशतभन्दा कम रहेको छ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । यस कम्पनीको २२ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २० करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनियन हाइड्रोपावरको १४ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
यस दिन हिम स्टार उर्जा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ७.४७ प्रतिशत घटेको छ।