हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको लगानी, विश्व बजारमा विस्तार गरिने

0 Shares

काठमाडौं । एनआईबीएल इक्विटी पार्टनर्स र हिमालयन जाभा कम्पनीबीच लगानी सम्झौता भएको छ । बिहीबार नक्सालस्थित आयोजित एक समारोहमा एनआईबीएल इक्विटी पार्टनर्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाण्डे र हिमालयन जाभाको तर्फबाट संस्थापक गगन प्रधानले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

नेपाली ब्रान्ड र मौलिकतालाई विश्व बजारमा पुर्‍याउने र प्रवर्द्धन गर्ने उद्देश्यका साथ लगानी सम्झौता गरिएको हो । उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाण्डेले यो लगानीले नेपाली व्यवसायलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न थप सक्षम र सबल बनाउने विश्वास व्यक्त गरे ।

उनले भने, ‘हिमालयन जाभालाई अन्तर्राष्ट्रिय विश्व बजारमा स्थापित गर्न चाहेका छौँ। यो हाम्रो दीर्घकालीन प्रतिबद्धता समेत हो ।’ उक्त अवसरमा हिमालयन जाभाका संस्थापक प्रधानले एनआईबीएल इक्विटी पार्टनर्सको लगानीले वैश्विक बजारमा पुग्न थप आत्मबल प्राप्त भएको धारणा राखे।

‘यो साझेदारी हाम्रो यात्राको एक महत्वपूर्ण मोड हो, स्वदेशमै रोजगारी सिर्जना गर्ने र व्यावसायिक तालिम मार्फत् दिगो वृद्धितर्फ हामी प्रतिबद्ध छौँ,’ उनले भने ।

यो साझेदारी तथा लगानीको मुख्य उद्देश्य नै हिमालयन जाभालाई विश्व बजारमा विस्तार गर्ने रहेको छ । जसको थालनी एशिया र अष्ट्रेलियाबाट हुनेछ । यसका साथै नेपालभित्र नयाँ आउटलेट सञ्चालनमा ल्याउन सहयोगसमेत पुग्ने छ । नेपाली ब्रान्डलाई विदेशसम्म लैजाने रणनीति अन्तर्गत एनआईबीएल इक्विटी पार्टनर्सले लगानी गरेको जनाएको छ ।

सन् १९९९ मा स्थापना भएको कफी ब्रान्डले नेपालमा ७० भन्दा बढी आउटलेट, १८ हिमालयन जाभा एक्सप्रेस आउटलेट र दुई वटा उच्च श्रेणीको ग्लालरी बाइ हिमालयन जाभा आउटलेट सञ्चालन गर्दै आइरहेको छ ।

यस लगानीले हिमालयन जाभाको बिक्री वृद्धि हुने, विश्व बजारमा निर्यात गर्ने अवसरको सम्भावना बढाउने विश्वास लिइएको छ । यसका साथै किसान, रोस्टर, बारिस्टा र फ्रेन्चाइज चेनभित्र समावेश हुने सबैलाई महत्वपूर्ण अवसर सिर्जना हुने एनआईबीएल इक्विटी पार्टनर्सले अपेक्षा गरेको छ ।

सम्बन्धित समाचार