माओवादी जागरण अभियान २२ गते लमजुङबाट हुने

0 Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान फेरि थाल्ने भएको छ। हालै बसेको स्थायी कमिटी बैठकको निर्णय अनुसार भदौ २२ गते लमजुङबाट अभियान सुरु गर्न लागिएको महासचिव देव गुरुङले बताए।

महासचिव गुरुङले अभियानको कार्यतालिका पनि तय भइसकेको बताए । उनका अनुसार भदौ २१ गते बेलुका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको टोली लमजुङ बास बस्ने, २२ गते लमजुङ खण्डमा कार्यक्रम आयोजना गर्ने र बेलुका गोरखा बास बस्ने, २३ गते गोरखा खण्डमा कार्यक्रम आयोजना गर्ने र बेलुका धादिङ बास बस्ने गर्ने तय भएको छ।

यस्तै, भदौ २४ गते धादिङ खण्डमा कार्यक्रम आयोजना गर्ने र बेलुका नुवाकोट बास बस्ने र २५ गते दिनभर नुवाकोट खण्डमा कार्यक्रम आयोजना गर्ने र बेलुका काठमाडौं फर्कने तय भएको उनले बताए। उनका अनुसार बाँकी जिल्लाहरूको कार्यक्रम पछि तय गरिनेछ। सबै जिल्लाहरूमा एकरएक सार्वजनिक संवादको कार्यक्रम र एकरएक आन्तरिक सङ्गठनात्मक तथा प्रशिक्षण मूलक कार्यक्रम गर्ने, सार्वजनिक कार्यक्रमहरूमा सर्वपक्षीय प्रतिनिधिमूलक सहभागितालाई जोड दिने निर्देशन दिएका छन्।

अभियानमा प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पार्टी उपाध्यक्ष र महासचिव रहनेछन्। माओवादीले तराई मधेस जागरण अभियानपछि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान थालेको थियो। अहिले वर्षाको कारणले केही समय रोकेर फेरि सुरु गर्न लागेको हो। अभियानले पार्टीप्रति आकर्षण बढेको माओवादीको निष्कर्ष छ।

सम्बन्धित समाचार