काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेको मात्र उम्मेद्वारी परेको छ ।
उनको उम्मेद्वारीको प्रस्तावकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा र समर्थकमा नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ रहेका थिए। न्यौपाने सोही समितिकी सदस्य थिइन् । आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेद्वार मनोनयन गर्ने कार्य तालिका रहेकामा उनले दिउँसो ३ बजे मनोनयन दर्ता गराएकी थिइन् ।
सभापतिमा उनको उम्मेद्वारी दर्ता गराउन नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलासमेत गएका थिए। समितिको भोलि बस्ने बैठकमा प्रस्तावकले एक मात्र प्रस्ताव परेको जानकारी दिएपछि उनी निर्विरोध भएको घोषणा गरिने छ ।
संसदीय सुनुवाई समितिको सभापतिको जिम्मेवारीमा रहेकी न्यौपानेले आजै मात्रै सभामुख समक्ष उक्त पदबाट राजीनामा दिएकी थिइन् । पार्टीको आजै बसेको पदाधिकारी बैठकले उनलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो। सो पदका लागि बुधबार निर्वाचन हुँदै छ ।
कांग्रेसकै सांसद रामहरि खतिवडाले सभापतिबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो । उनीमाथि कर्मचारीको कुलिङ पिरियडमाथि छेडखानी गरेको आरोप छ ।