काठमाडौं । दुई ठूला सत्ता साझेदारी दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानाविरुद्ध दर्ता गर्न खोजेको महाभियोगको प्रस्ताव दोस्रो पटक असफल भएको छ ।
उपसभामुख रानाले आफूसहित ६ जनालाई अमेरिका जान चाँडोभन्दा चाँडो प्रबन्ध मिलाइदिन भन्दै दूतावासलाई पत्र लेखेको भन्दै सत्ता साझेदारी दलहरूले महाभियोग लगाउन खोजेको हो ।
उनी अमेरिकाको भ्रमणमा रहँदै गर्दा संसदमा महाभियोगको प्रस्ताव दर्ता गर्ने तयारी भइरहँदा विवाद उत्पन्न भएको थियो । यसमा सत्ता पक्षकै केही सांसददेखि विपक्षी दलका नेताहरूले विरोध गरेका थिए ।
यसैबीच, उपसभामुख राना स्वदेश फर्किएपछि मात्र पदअनुकूल आचरण नगरेको भन्दै प्रतिनिधिसभामा प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो । यसअघि कांग्रेस र एमालेले मंगलबार प्रस्ताव दर्ता गर्ने तयारी गरी सांसदहरूको हस्ताक्षर संकलन गरेको थियो । तर, साना दलहरू नमानेकाले तत्काललाई थाती राखिएको हो ।
उपसभामुखले पत्र लेखेको झण्डै तीन वर्षपछि कांग्रेस-एमालेबीच संवैधानिक परिषदको भागबण्डा मिलाउनका लागि उनीमाथि महाभियान लगाउन खोजिएको हो ।
संवैधानिक परिषदमा प्रधानमन्त्रीसहित, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष र सर्वोच्च अदालतका प्रधानन्यायाधीश हुने व्यवस्था छ । परिषदमा कांग्रेसको कोटाबाट कोही छैन ।
यस्तै, कुनै पनि निर्णय गर्दा संवैधानिक परिषदमा बहुमत नहुँदा शक्तिशाली दुई तिहाईको सरकार कमजोर बनेको छ । यस्तो अवस्थामा उपसभामुखलाई हटाएपछि आफू अनुकल नियुक्त गर्न सहज हुने सत्तारुढ दलले उपसभामुखलाई हटाउने प्रयास गरेको हो ।