राजावादी आन्दोलनले राप्रपालाई धक्का, पार्टीभित्र समान्तर कमिटी बन्दै

0 Shares

काठमाडौं । गत चैत्र १५ गते अघिसम्म राष्ट्रिय प्रजतन्त्र पार्टी (राप्रपा)सहित राजावादीहरू एकजुट हुँदै राजतन्त्रको पक्षमा आवाज उठाउँदै थिए ।

राप्रपा र राजावादीहरूको संयुक्त आन्दोलन चैत्र १५ गते काठमाडौंको तीनकुनेमा हुने भएसँगै मेडिकल व्यवसायी दुर्गा प्रसाईं कमाण्डर बने । आन्दोलनमा राप्रपाबाट सबैभन्दा बढी सक्रिय थिए, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणासहित अन्य नेताहरू ।

आन्दोलनमा राप्रपासँगै पञ्चायतका नेता नवराज सुवेदी, व्यवसायी प्रसाईं, धार्मिक गुरुहरू सहभागी भएका थिए । आन्दोलन सुरु हुँदै गर्दा प्रहरीले अश्रु ग्यास प्रहार गरेसँगै आन्दोलन भड्किएको थियो ।

आन्दोलनमा पत्रकारसहित दुई जनाले ज्यान गुमाए । सयौँ घाइते भए । एक घरमा आगजनीसँगै मीनबहादुर गुरुङको सुपरमार्केट भाटभटेनीसहित सयौँ घर तोडफोड भए । सामान लुटपाट भए । शान्तिपूर्ण भनिएको आन्दोलन हिंसात्मक भएपछि आन्दोलनका नेतृत्वकर्ता भागभाग भए ।

यसैबीच, राजावादीहरू छिन्नभिन्न भए । आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं भारतबाट पक्राउ परी लामो समय जेल परेपछि धरौटीमा रिहा भए । आन्दोलन कमजोर हुँदा राजावादी शक्ति छिन्नभिन्न हुन पुग्यो ।

राजावादी आन्दोलन तुहिएसँगै राप्रपामाथि संकट थपिएको छ । आन्दोलनमा सक्रिय भएका वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री शमशेर जेल परे पनि पार्टीले जस नलिँदा राप्रपामा संकट थपिएको हो ।

जसको असर पार्टीभित्र गुटगत विवादसँगै पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा स्पष्ट देखिएको छ ।

बुधबार राजधानीको एसआर पार्टी प्यालेसमा संगठनको अधिवेशनमा दुई पक्षीय विवादसँगै अवस्था तनावग्रस्त बनेको थियो । यसका लागि ठूलो मात्रामा प्रहरी परिचालन गरिएको थियो । प्रहरीको कडा सुरक्षाबीच दुई पक्षबीच झडप भएको थियो

संगठनमा राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री शमशेर समूहबीच झडप हुँदा अधिवेशन भाँडिन पुगेको थियो । विवादसँगै काठमाडौंको अधिवेशनमा राणा पक्षले ज्योति लामालाई अध्यक्ष घोषणा गरेपछि तनाव थप उत्कर्षमा पुगेको हो । यसले आगामी दिन राप्रपाभित्रको संकट थप गहिरिँदै जाने निश्चित भएको छ ।

सम्बन्धित समाचार