राष्ट्रिय फल घोषणा भएसँगै सुन्तलाले पायो तीन गुणा बढी मूल्य

0 Shares

काठमाडौं । हिउँदमा बिक्री नभएका सुन्तला शीत भण्डारमा राखेपछि किसानले दुई महिनामै तीन गुणा बढी मूल्य पाएका छन् । म्याङलुङ ९ साब्लामा सञ्चालित मेयङलुङ शीत भण्डारमा हिउँदमा सुन्तला भण्डारण गर्दा प्रतिकिलो ६० थियो । अहिले प्रतिकिलो दुई सयले बिक्री भइरहेको छ ।

कोशी प्रदेश सरकारको तीन करोड, म्याङलुङ नगरपालिका र कियाचु कृषि सहकारी संस्थाको एक करोड ३० लाख साझेदारीमा म्याङलुङ ९ साब्लामा एक हजार मेट्रिक टनको शीत भण्डार सञ्चालनमा छ ।

महिनाको प्रतिकेजी दुई रुपैयाँ ५० पैसा भाडा तिरेर माघको अन्त्यतिर शीत भण्डारमा राखेको दुई महिनामै स्थानीय बजारमा सुन्तलाले तीन गुणा बढी मूल्य पाउँदा किसानलाई फाइदा भएको म्याङलुङ २ की मेनुकाकुमारी श्रेष्ठले बताइन् ।

“हिउँदमा सुन्तला बिक्री नभएर बगानमै कुहिने अवस्था थियो, बिक्री भइहाले पनि ५० किलो व्यापारीले मागिरहेका थिए, अहिले तीन गुणा बढी मूल्य पायो हामी खुसी छौँ,’ श्रेष्ठले भने ।

यसअघि शीत भण्डारमा भण्डारणको अनुभव नभएकाले बिग्रिने हो की भनी डराइडराइ सुन्तला भण्डारण गरेको म्याङलुङ २ का मोतीराज तुम्बाहाङ्फे बताए । “साथीहरुले बिग्रिन्छ नराख भन्दै थिए तर भण्डारणको समयमा कटिङ र लेबलिङमा ध्यान दिने हो भने नबिग्रिने रहेछ,” उनले भने ।

विं.सं. २०७० मा दर्ता भएको कियाचु कृषि सहकारीमार्फत मेयङलुङ शीत भण्डार गत सालदेखि सञ्चालित छ । किसानमा शीत भण्डारको उपयोगिताको बारेमा थाहा नभएकाले किसानसँग छलफलमा रहेको शीत भण्डारकी व्यवस्थापक कुमारी लिम्बूको भनाइ छ ।

सरकारले सुन्तलालाई हिजो शुक्रबार मात्रै राष्ट्रिय फल घोषणा गरेको थियो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी थिइन् ।

सम्बन्धित समाचार