काठमाडौं । श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपाली श्रमिकहरुको श्रम वैधानिकिकरण सुरु भएको छ ।
आज रियादस्थित नेपाली दूतावासले आयोजना गरेको एक समारोहमा आठ वर्षदेखि रियादमा कार्यरत अजय दङ्गालको बायोमेट्रिक लिएर राजदुत डा नरेश बिक्रम ढकालले श्रम वैधानिकिकरण औपचारिक रुपमा सुरु गरे।
कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत् सिंह भण्डारीले श्रम स्वीकृति बिना विदेशमा काम गर्ने श्रमिकलाई वैधानिकिकरण गर्ने अभियानमा नेपाली दूतावास साउदी अरेबियाको प्रयास सराहनीय भएको बताए ।
श्रम स्वीकृति नहुँदा वैदेशिक रोजगारमा रहेका श्रमिक स्वदेश फर्किन नसक्ने नभएकाले वैधानिकिकरण अभियान सुरु गरिएको उनले जानकारी दिए । साउदी अरेबियासँग द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर हुने जानकारी दिँदै मन्त्री भण्डारीले दूतावासले दिने आगामी सेवा प्रविधिमा आधारित हुने बताए ।