काठमाडौं । हाल देशभर साधरणतया बदली रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकाले आगामी दुई दिन मनसुनको प्रभाव बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, मधेस, बागमती प्रदेशको थोरै स्थान तथा बाँकी प्रदेशको एक दुई स्थानमा अहिले मध्यम वर्षा भइरहेको छ । कोशी प्रदेशको एक दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ ।
आज दिउँसो देशभर पूर्णतया बदली रहनेछ । देशका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशको थोरै स्थानमा भारी वर्षा र एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भागमा पूर्णतया बदली रही बाँकी भागमा साधरणतया बदली रहने छ । गण्डकी र कर्णाली प्रदेशको पहाडी भाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागका धेरै स्थान र बाँकी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।