काठमाडौं । भारतको उत्तराखण्डमा गएको भिषण बाढीपहिरोमा परेर धादिङका चार जना बेपत्ता भएका स्थानीय प्रशासनले जनाएको छ ।
ज्वालामुखी गाउँपालिका २ काफलपानीका चार जना उत्तराखण्डको बाढीमा बेपत्ता भएको जानकारी परिवारका सदस्यहरूले गराएका धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए ।
‘परिवारका सदस्यले जानकारी गराएपछि हामीले विभिन्न ढंगले बेपत्ताहरूको खोजी सुरु गरेका छौँ,’ प्रजिअ घिमिरेले भने । बेपत्ता हुनेमा ज्वालामुखी गाउँपालिका २ काफलपानीका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ छन् ।
बाढीपहिरोमा परी जाजरकोट, बाँके, जुम्ला र रुकुमका गरी १८ जनाभन्दा धेरै बेपत्ता सम्बन्धित जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरुले जनाएका छन् ।
उनीहरू उत्तराखण्डका विभिन्न स्थानमा मजदुरी गर्दै आएका थिए । बेपत्ताहरूको खोजीका लागि गृह मन्त्रालयमार्फत् भारतीय दूतावासलाई आग्रह गरिएको स्थानीय प्रशासनले जनाएका छन् ।
यही साउन २० गते उत्तराखण्डको धराली बजारमा आएको बाढीले ठूलो त्यसक्षेत्रमा ठूलो जनधनको क्षति गरेको छ ।