एसीसी प्रिमियर कप- नेपाल र मलेसिया भिड्दै, कसले मार्ला बाजी ?

0 Shares

काठमाडौं । नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी मलेसियासँग खेल्दै छ । आज शुक्रबार ओमानमा हुने नेपाल र मलेसियाको खेल नेपाली समयअनुसार दिउँसो ४ः१५ बजे सुरु हुँदै छ ।

कूल १० देश सहभागी प्रतियोगितामा नेपालको लक्ष्य उपाधि रक्षा गर्दै आफ्नो छिमेकी देश भारत र पाकिस्तानसँग पुनः भिड्ने बाटो खोल्नु रहेको छ । प्रिमियर कपको पहिलो संस्करणको उपाधि नेपालले जित्दै यी दुई देशसँग भिडेको थियो ।

नेपाली टोली भारतमा स्थानीय दुई क्लबसँग त्रिकोणात्मक शृङ्खला खेलेर ओमान प्रस्थान गरेको हो । भारत भ्रमणका क्रममा नेपाली टोलीले राज्य स्तरीय क्लब गुजरात र बरोडासँगको खेलमा उपाधि रक्षा गरेको थियो ।

एसीसी प्रिमियर कपमा छनोट भएको एसोसिएट्स सदस्य राष्ट्रले आफूभन्दा निकै बलिया टेस्ट राष्ट्रहरूसँग भिडन्त गर्ने अवसर पाउँछ । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले सहभागिता जनाउँछन् ।

यसपटक एसीसी प्रिमियर कपमा नेपालसँगै हङ्कङ, मलेसिया, साउदी अरेबिया र कतार समूह ‘ए’ मा परेका छन् । प्रतियोगिताको समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, आयोजक ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् ।

प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल शुक्रबार मलेसियासँग खेल्नेछ । शनिबार नेपालले आफ्नो दोस्रो खेल कतारसँग खेल्नेछ । अप्रिल १५ तारिखमा नेपालले आफ्नो तेस्रो खेल हङ्कङसँग खेल्नेछ । नेपालले समूहगत चरणको अन्तिम खेल अप्रिल १७ तारिखमा साउदी अरेबियासँग खेल्ने छ ।

प्रतियोगिताका लागि नेपाली टोलीमा रोहितकुमार पौडेलको कप्तानीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुलसन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी र अविनाष बोहरा रहेका छन् ।

सम्बन्धित समाचार