काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले तत्कालीन नेकपा माओवादीबाट द्वन्द्व पीडित भएको भन्दै नक्कली पीडित बनेर अमेरिका पुगेर पार्टीको लेटरप्याड र छाप दुरुपयोग गरेको भन्दै सचेत हुन आग्रह गरेको छ ।
कांग्रेस जिल्ला कार्य समिति रोल्पा र विभिन्न तहको नक्कली लेटरप्याड, छाप र हस्ताक्षर प्रयोग गरी आफू कांग्रेसको सदस्य भएको तथा कांग्रेसको गतिविधिमा संलग्न हुँदा माओवादीसहित विप्लव नेतृत्वको कार्यकर्ताले दुःख र धम्की दिएको भन्दै अमेरिकामा नक्कली कागजात बनाउने गरेको कांग्रेसले जनाएको छ ।
यसैबीच नक्कली पीडितले नेपालमा बस्न नसक्ने भन्दै विभिन्न देश हुँदै अमेरिकामा आउनु परेको भनी सिफारिस बनाएको र बनाउने प्रक्रियामा रहेको बुझिएको कांग्रेस रोल्पाले जनाएको छ ।
जिल्ला सभापति किशोरकुमार आचार्यले विज्ञप्ति जारी गर्दै यसरी नक्कली सिफारिस बनाइएका वा प्रक्रिया अघि बढाइएकाको विवरण पत्ता लगाई आवश्यक कारबाही गर्ने जनाएका छन् ।
