काठमाडौं । भारतको नोएडामा भएको प्रतिष्ठित म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा बान्टमवेट च्याम्पियनको बेल्ट जितेका रविन्द्र ढाट स्वदेश फर्किएका छन्।
सोमबार स्वदेश फर्किएका रवीन्द्रलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरियो। सो अवसरमा खेलप्रेमिहरू तथा रविन्द्रका समर्थकहरूको बाक्लो उपस्थिती रहेको थियो।
भारतको उत्तर प्रदेशस्थित सहिद विजयसिंह प्रतीक स्पोर्ट्स कम्प्लेक्समा शनिबार साँझ सम्पन्न मिक्स मार्सल आर्ट भर्सनको म्याट्रिक्स फाइट नाइट- १७ (एमएफएन) को प्रोफेसनल ‘मेन इभेन्ट’तर्फ नेपालका ढाटले बेन्टम वेट समूहको च्याम्पियनसिप बेल्ट (उपाधि) हात पारी ऐतिहासिक जित निकालेका हुन्। यो स्तरको प्रतियोगिता जित्ने ढाट पहिलो नेपाली हुन्।
उनले भारतका प्रतिद्वन्द्वी डिफेन्डिङ च्याम्पियन चुङ्रेङ कोरेनलाई तेस्रो राउन्डको ५६औँ सेकेन्डमा शक्तिशाली मुक्का प्रहार गरी नकआउट गरेका थिए। २६ वर्षीय ढाट एसिया प्रशान्त क्षेत्रमा २२८औँ स्थानका एमएफए फाइटर हुन्।
म्याट्रिक्स फाइट नाइट (एमएफएन) महाराष्ट्रको मुम्बईमा अवस्थित एक भारतीय प्रोफेसनल मिक्स्ड मार्शल आर्ट प्रवर्द्धन कम्पनी हो। यो कम्पनी हिन्दी चलचित्र अभिनेता ज्याकी श्राफका छोरा टाइगर श्राफ, उनकी आमा आयशा श्राफ र उनकी बहिनी कृष्णा श्राफको स्वामित्वमा सञ्चालित छ।
यो सन् २०१९ मा स्थापना भएको थियो। भारतमा यो भिडन्त निकै लोकप्रिय छ।