ताल नै बनाएर चर्चा कमाएका मेयरले अकुत सम्पत्ति थुपारेपछि…

0 Shares

काठमाडौं । केही महिनाअघि मात्रै निर्देशक दीपेन्द्र के‍ खनालले फिल्म ‘मेयर’ बनाउने घोषणा गरेका थिए । सर्लाहीस्थित बागमती नगरपालिकाका मेयर भरतकुमार थापाको जीवनीमा आधारित भई फिल्म बनाउन खोजेको हो ।

मेयर थापाले सुशासन र पर्यटन क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै निर्देशक खनालले फिल्म बनाउन लागेको बताउँदै आएका थिए । तर, उनै मेयर थापाविरुद्ध अकुत सम्पत्ति कमाएको आरोपमा मुद्दा दायर भएको छ ।

आफ्नो नगरपालिकामा मानव निर्मित भरत ताल बनाएर चर्चामा आएका मेयर थापाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सत्तामा बसेर गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको हो ।

आयोगले थापाविरुद्ध पाँच करोड ३३ लाख ५३ हजार १८१ रूपैयाँ बिगो दाबी गर्दै बुधबार मुद्दा दायर गरेको हो । उनी विं.सं. २०७४ असोज ७ गते मेयरको जिम्मेवारी सम्हालेका थिए । उनी ०७९ माघ २९ सम्म पहिलो कार्यकालका लागि मेयर पदमा थिए ।

उक्त समयमा उनको कूल वैध आय सात करोड ८६ लाख ५० हजार २०१ रूपैयाँ देखिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । तर, १३ करोड २० लाख तीन हजार ३९१ रूपैयाँ खर्च देखिएकाले आम्दानी र खर्च मेल नखाएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्थानीय तहमा नेकपा माओवादी केन्द्रबाट थापा मेयरमा विजयी भएका थिए । उनी अहिले दोस्रो कार्यकालका रुपमा मेयर पदमा छन् ।

सम्बन्धित समाचार