सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

0 Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियासहित भिजिट भिसा प्रकरणमा संसद्मा निरन्तर संघर्ष गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरूसँग छलफल गरेका छन् ।

उनले रास्वपा कार्यवाहक सभापति डिपी अर्याल र राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङसँग छलफल गरे । सभामुख घिमिरेले भने, ‘भिसा प्रकरणलाई लिएर दुवै दल निरन्तर संसदीय कारबाहीमा सहभागी हुनुभएको छैन, सरकार र तपाईँहरूबीच संवाद हुन नसक्दा त्यसको असर संसद्मा परेको छ, सभामुखका रूपमा मैले अप्ठ्यारो महसुस गरिरहेको छु ।’

उनले सरकारले आगामी आर्थिक वर्षमा १२१ वटा विधेयक दिने भनेको कुरा उल्लेख गर्दै हाउस निरन्तर अवरोध हुँदा ती विधेयकलाई अगाडि बढाउन समस्या हुने बताए ।

उनले भने, ‘संसद् चलाउने वातावरण बनाउन म सरकार र विपक्षी दलहरूलाई आग्रह गर्दछु, तपाईंहरूको सैद्धानिक, राजनीतिक र मुद्दाहरूप्रति मेरो भन्नु केही छैन, तर संसदीय गतिविधि प्रभावित भएको छ ।’

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री चौरसियाले सरकारले छानबिन समिति बनाएर काम सुरू गरेको उल्लेख गरे । ‘सरकारले विपक्षीलाई नजरअन्दाज गरेर जाने पक्षमा छैन, रास्वपा र राप्रपासँग पनि सरकारले छलफल गरिनै रहेको छ, एउटा सहमतिको विन्दुमा पुग्न तपाईहरू पनि लचिलो हुनुहोस्, सरकारले आवश्यक गृहकार्य गर्छ,’ उनले भने ।

रास्वपा कार्यवाहक सभापति अर्यालले भने, ‘सभामुखले सहमतिका लागि निरन्तर पहल गर्नु भएको छ, धेरै बैठक सहमतिका लागि नै स्थगित पनि गर्नु भयो, तर, हामीले उठाएका मुद्दा धेरै गम्भीर छन् ।’

विपक्षी दल बिना सहमति फर्कन सक्ने अवस्थामा छैनन् । सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिन जरुरी छ । वैरागी छानबिन समितिले के काम गरेको छ भनेर समेत संसद्लाई जानकारी दिएको छैन ।

सम्बन्धित समाचार