काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको आग्रहमा हिजो भेटघाट भएको बताएका छन् । केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै हिजोको भेटवार्तामा विद्या भण्डारीलाई पोलिटब्युरोको निर्णयका विषयमा आवश्यक जानकारी गराइएको उनले बताए ।
ओलीले भने, ‘राष्ट्रिय राजनीति, राष्ट्रपतिको गरिमा र हाम्रो गणतन्त्रलाई अनावश्यक विवादमा तान्न नहुने कुरा पनि स्पष्ट रूपमा राखिएको छ । उहाँले आफ्नो धारणा सोचेर पछि जानकारी दिने बताउनुभएको छ । उहाँको धारणा आएपछि आवश्यकतानुसार पार्टीले थप निर्णय गर्नेछ।’
उनले थपे, ‘कहाँ भेट्ने ?’ भन्ने प्रश्नमा उहाँले ‘पार्टी कार्यालय नगएको धेरै भयो, त्यहीँ आउँछु’ भन्नुभयो र त्यसपछि भेटवार्ता पार्टी कार्यालयमै सम्पन्न भयो । तर, उहाँ आउँदा केही असन्तुष्ट र आफैँ चुनाव गराएर हारेका केही समूहहरू पनि देखिए, जो पशुपतिमा समेत देखिएका थिए ।’ उमेरको हद तोक्ने हो भने जेल बसेको उमेर घटाउनुपर्छ भनेर अध्यक्षले भनेको भन्दै प्रचार गरिएको उनको भनाइ थियो ।
ओलीले भने, ‘भण्डारीले बालुवाटार जान मानेनन् भनेर गलत प्रचार गर्नु पनि बेठीक हो । उहाँको प्रवक्ता बनेर कतिपय नेताले मिडियामा अनावश्यक बयानबाजी गर्नु जरुरी छैन । हिजोको बैठकलाई ‘कट अफ’ बैठकको रूपमा लिनुपर्छ । अब यस्ता अनुशासनहीन गतिविधि दोहोरिए कारबाही अवश्य हुनेछ ।’ एमाले र पार्टी नेतृत्वमाथि चौतर्फी आक्रमण भइरहेकै बेलामा सबैले एकताबद्ध भएर अघि बढ्नु अत्यावश्यक रहेको उनले बताए ।