काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच च्यासलमा छलफल भएको छ। अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई भेट्न पूर्वराष्ट्रपति भण्डारी आइतबार अपराह्न एमाले केन्द्रीय कार्यालय च्यासल पुगेकी हुन्।
सुरक्षाबाहेक सेवा सुविधा त्याग गरेकी पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किन चाहन्छन्। दिउँसो ३ बजेका लागि तय भएको भेटघाट प्रधानमन्त्री ओलीको कार्य व्यस्तताका कारण केहीबेर ढिलोगरी सुरु भएको हो ।
आगामी भदौमा विधान महाधिवेशनको तयारी गरिरहेको एमालेले पछिल्ला केही दिन लगातार पार्टी बैठक चलाइरहेको छ ।
यसैबीच, आइतबार ओली र भण्डारीबीच भेटवार्ता भएको हो । यसलाई पार्टी पंक्तिामा चासोको साथ हेरिएको छ । स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले आइतबार बिहान सम्पर्क गरेर भण्डारीलाई बालुवाटार आउन आग्रह गरेका थिए । तर, ओलीको उक्त अनुरोध भण्डारीले अस्वीकार गरेको उनी निकट स्रोतले बताए ।
‘उहाँ (ओली) ले बालुवाटारमै आउनुस् भनेर बोलाउनुभएको थियो,’ उक्त स्रोतले भन्यो, ‘तर, यो बैठक च्यासलमा गरौं, म बालुवाटार आउँदिन भनेर पूर्वराष्ट्रपतिले भन्नुभयो ।’
भण्डारीले अनुरोध अस्वीकार गरेपछि ओली च्यासलमै भेट्न तयार भएका हुन् । सोही अनुसार, उनीहरूबीच अहिले भेटवार्ता चलिरहेको छ ।