काठमाडौं । कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख नीलकण्ठ पोखरेलसहित आठ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा पोखरेलसहित आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले आज मंगलबार निर्देशनालयकै कृषि इञ्निियर विश्वनाथ पौडेल, तत्कालिन कृषि अर्थविज्ञ (शाखा प्रमुख) भानुभक्त भट्टराई, स्याङजाको गल्याङ नगरपालिका तीन पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनाल, उपाध्यक्ष हेमा न्यौपाने, सचिव परसुराम खनाल र कोषाध्यक्ष उमा श्रेष्ठ र स्थानीय श्रीप्रसाद श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको हो ।
उनीहरूविरुद्ध जनही २८ लाख ३७ हजार रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ । स्याङ्गजाको गल्याङ्ग नगरपालिकामा रहेको पकवादी कृषि सहकारी संस्थाले भवन निर्माण गर्न भनी कृषि निर्देशनालय, गण्डकी प्रदेश पोखराबाट अनुदान प्राप्त गरेको थियो ।
सोही भवन निर्माणका लागि विनियोजित बजेट हिनामिना गरेको अनुसन्धानबाट खुलेको आयोगका सहसचिव एवम प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए । उनका अनुसार एउटा जग्गा धनी प्रमाण पुर्जा देखाएर पछि अर्को ठाउँमा भवन बनाएको, मापदण्ड मिचेकोलगायतका अनियमितता गरेको पाइएको हो ।