सशस्त्र प्रहरीको स्टोरमा लागेको आगो नियन्त्रण, थप विवरण आउन बाँकी

0 Shares

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)को सतुंगलस्थित स्टोरमा भएको आगलागी नियन्त्रणमा आएको छ । सोमबार साँझदेखि सुरु भएको आगलागी मंगलबार बिहान २ बजे नियन्त्रणमा आएको हो ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ । आगलागी नियन्त्रणका लागि सात वटा दमकलका साथै स्काभेटर, ट्याङ्करसहित एक हजार बढी सुरक्षा फौज परिचालन भएको थियो ।

उक्त स्टोरमा लत्ता कपडाका सामान राखिएको जनाइएको छ । यसअघि सशस्त्र प्रहरी बलको मुख्यालयमा रहेको महत्वपूर्ण कागजात राखिएको स्टोरमा समेत आगलागी भएको थियो ।

आगलागीको घटना छानबिन गर्न समिति गठन गरिएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशिराज दाहालको नेतृत्वमा नेतृत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।

उनले भने, “के कारणले आगलागि भयो ?, आगलागीबाट के कति क्षति भयो ? सो विषयमा छानबिनका लागि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकको नेतृत्वमा छानबिन समिति गठन भएको छ, समितिमा विज्ञ व्यक्तिहरु पनि भएकाले छानबिनपछि मात्रै एकिन कुरा भन्न सकिने छ ।”

हालको प्रारम्भिक अनुसन्धानअनुसार विद्युत् चुहावट भएर नै आगलागी भएको आँकलन गरिएको प्रवक्ता खड्काले बताए । उनका अनुसार सशस्त्र प्रहरी मुख्यालय हलचोकमा ठाउँ अभावका कारण अन्य आवश्यक बन्दोबस्तीका सामग्री उक्त गोदममै राख्ने गरिएको थियो ।

आगलागी भएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने घटना स्थलमा पुगेर आगलागी र त्यहाँ राखिएका सामानबारे जानकारी लिएका थिए ।

सम्बन्धित समाचार