काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता गर्न दुई साताको समय दिने घोषणा गरेसँगै आक्रमण गरेका छन् ।
ट्रम्पले इरानका तीन आणविक केन्द्रमा बम प्रहार गरेको बताएका हुन् । उनले फोरडोअ, नातान्ज र इसफाहानमा आक्रमण गरेको बताए ।
राष्ट्रपति ट्रम्पले सबै विमान अहिले इरानी आकाशमा छाडिसकेको बताएका छन् । उनले इरानमा सफलतापूर्वक प्रहार गरेको दाबी गरेका छन् ।
अमेरिकास्थित ह्युमन राइट्स एक्टिविस्ट न्युज एजेन्सीका अनुसार १३ जुनदेखि अहिलेसम्म इरानमा ६५७ जनाको मृत्यु भइसकेको र २००० बढी घाइते भएका छन् । इरानको स्वास्थ्य मन्त्रालयले ४३० जना नागरिक मारिएको ३ हजार ५०० बढी घाइते भएको पुष्टि गरेको छ ।
ट्रम्पले गत जुन १३ देखि इरानविरुद्ध इजरायलले सुरु गरेको कारबाहीमा आफ्नो देशको सहभागिताबारे दुई हप्ताभित्र निर्णय गर्ने घोषणा बचन २४ घण्टा पनि नटिकेको हो ।
उनले भनेका थिए, ‘इरान युरोपसँग होइन, संयुक्त राज्य अमेरिकासँग कुरा गर्न चाहन्छ, तेहरानले आणविक हतियार राख्ने वा नराख्ने भन्ने निर्णय लिन थप केही समय (दुई हप्ता)को समय पाउने छ ।’
इजरायलले इरानमाथिको हवाई आक्रमण रोक्नुपर्ने मागलाई अस्वीकार गर्दै आएको छ ।