ईसीडी शिक्षकसँर्ग विद्यालय कर्मचारी र सहयोगीको तलब बढ्ने, कसले कति पाउने?

0 Shares

काठमाडौं । आगामी साउनदेखि बाल विकास शिक्षक, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको मासिक तलब बढ्ने भएको छ ।

आर्थिक वर्ष २०८२/८३ को बजेट भाषणमा सरकारले सशर्त अनुदान वृद्धि गरेको छ । सोहीअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै स्थानीय तहलाई परिपत्र गर्दै संघीय सरकारबाट उपलब्ध गराउने पारिश्रमिक बढ्ने भएको हो ।

बजेटमा सरकारले ‘सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बाल विकास सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बापत संघीय सरकारबाट उपलब्ध गराइँदै आएको सशर्त अनुदान वृद्धि गरेको थियो । यसका लागि १० अर्ब १६ करोड बजेट विनियोजन गरिएको थियो ।

जसअनुसार अब साउनदेखि बाल विकास शिक्षकले मासिक १२ हजार, लेखापालले १५ हजार र विद्यालय सहयोगीले १० हजार पाउने भएका हुन् । शिक्षा मन्त्रालयले बजेट उपशीर्षकमा सशर्त अनुदानमा वित्तीय हस्तान्तरणअन्तर्गतको रकम वृद्धि गरिएको हो ।

हाल बाल विकास शिक्षकहरूको हकमा संघीय सरकारबाट १० हजार रुपैयाँ पाउँदै आएका छन् । आगामी आर्थिक वर्षदेखि २ हजार बढाएर १२ हजार मासिक तलब पाउने छन् ।

त्यस्तै लेखापालले १३ हजार ५०० रुपैयाँबाट बढेर १५ हजार पाउने छन् भने कार्यालय सहयोगीले ८ हजारबाट १० हजार पाउने भएका हुन् ।

सम्बन्धित समाचार