काठमाडौं । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशको पश्चिम भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले कोशी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी र बागमती प्रदेशको एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी भागका थोरै स्थान चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का वर्षासहित हिमपातको पनि सम्भावना रहेको छ ।
राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।