काठमाडौं । जारी इण्डियन प्रिमियर लिग (आईपीएल)को गएरातिको खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंग्लोरुमाथि ६ विकेटको सानदार जित निकालेको छ ।
बेंग्लोरुले दिएको १८४ रनको लक्ष्य राजस्थानले १९.१ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको हो । राजस्थानको जितमा ओपनर जस बटलरले शतक प्रहार गरे । उनले ५८ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक १०० रनमा अविजित रहे ।
कप्तान सञ्जु स्यामसन ४२ बलमा ८ चौका र २ छक्कासहित ६९ रन बनाए । बेंग्लोरुका रिस टोप्ली २, यश दयाल र मोहम्मद शिराजले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको बेंग्लोरुले २० ओभरमा तीन विकेट गुमाउँदै १८३ रन बनाएको थियो । यसका लागि विराट कोहलीले ७२ बलमा १३ चौका र ४ छक्कासहित ११३ रनमा नटआउट रहे । यो जारी आईपीएलमा बनेको कीर्तिमानी रन हो । तर, उनको टोलीले जित निकाल्न सकेन । फाफ डु प्लेसिस ४४, ग्लेन म्याक्सवेल १ रनमा आउट भए ।
राजस्थानका युजभेन्द्र चहलले २ र नान्द्रे बर्गरले १ विकेट लिए ।
राजस्थान ४ खेलमा अपराजित यात्राका साथ शीर्ष स्थानमा छ । बेंग्लोरु पाँच खेलमा चारमा हार र १ मा जितसहित आठौं स्थानमा छ ।