काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मलेखु-मुग्लिन सडक खण्ड आजदेखि असार ७ गतेसम्म राति बन्द हुने भएको छ ।
जेठ ३० गतेदेखि राति १०ः३० बजेदेखि बिहान ३ बजेसम्म अत्यावश्यक सवारी साधन मात्रै सञ्चालन हुने गरी बन्द भएको हो ।
मलेखु-मुग्लिन सडक खण्डस्थित बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने काम भइरहेकाले सवारी साधन आंशिक बन्द हुने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको हो ।
उक्त स्थानमा ठूलो साइजको क्रेन प्रयोग गर्नुपर्ने भएकाले सवारी साधन बन्द गर्नु परेको हो । सूचनामा जनाइएअनुसार मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारी साधन मुग्लिन र हलुका सवारी साधन कुरिनटारमा रोकिने छ ।
यसैगरी मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारी साधन मलेखु र हलुका सवारी साधन शितल बजारमा रोकिने छ । रोकिने सवारी साधन बिहान ३ बजेपछि मात्रै छाडिने सूचनामा जनाइएको छ ।