काठमाडौं । बुधबार दुर्घटनामा परेको दुई प्याराग्लाइडिङका पाइलटलाई ग्राउन्डेड गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङको नियमन गरिरहेको नेपाल हवाई खेलकुद संस्था९ना०लाई पत्रचार गर्दै दुई पाइलटलाई अर्को निर्णय नभएसम्म उडानमा रोक लगाउन निर्देशन दिएको छ।
प्राधिकरणका मनोरञ्जनात्मक उड्डयन शाखाका प्रमुख ज्ञानेन्द्र भुलले अग्नि प्याराग्लाइडिङका पाइलट मिलन शाह र हेप्पी फ्लाई प्याराग्लाइडिङका पाइलट विश्वास अधिकारीलाई उडानमा रोक लगाएर आवश्यक छानबिन गर्न निर्देशन दिइएको जानकारी दिए।
यात्रुसहित भएको दुर्घटनाको सत्यतथ्य छानबिन गरी ३ दिनभित्र प्राधिकरणमा प्रतिवेदन बुझाउन समेत निर्देशन दिइएको उनले बताए।
बुधबार कास्कीको पोखरा महानगर १८ खपौंदीस्थित फेवातालमा प्याराग्लाइडिङ दुर्घटनामा परेको थियो। अवतरणका क्रममा अनियन्त्रित भई फेवातालका बीचमा खसेका अग्नि प्याराग्लाइडिङका पाइलट शाह र उक्त प्याराग्लाइडिङमा सवार भारतको बनारसका अकलेस यादवलाई सकुशल उद्धार गरिएको थियो।
यस्तै, हेप्पी फ्लाई प्याराग्लाइडिङका पाइलट अधिकारी र भारतको बनारसका चन्दनकुमार पटेललाई कास्कीस्थित सशस्त्र प्रहरी बल नं २४ गणबाट फेवा उद्धार टावरमा खटिएको विपद् व्यवस्थापन टोलीले उनीहरूको उद्धार गरेको थियो।