गाडीको ठक्करबाट युवकको मृत्यु, ठक्कर दिने सवारीको पहिचान नहुँदा समस्या

0 Shares

काठमाडौं । रौतहटमा सात घण्टादेखि स्थानीयवासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। गाडीको ठक्करबाट ३५ वर्षीय स्थानीय एक युवकको मृत्यु भएपछि स्थानीयवासीले बिहीबार बिहान ६ बजेदेखि नै पूर्वपश्चिम राजमार्ग बन्द गरेका हुन्।

पूर्व–पश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिका–१ मङ्गलपुर पौराइमा पहिचान नखुलेको गाडीले ठक्कर दिँदा आज बिहान ३५ वर्षीय बुद्ध लिम्बुको मृत्यु भएको थियो। बिहान पाँच बजेतिर सडकमा उनको शव फेला परेको हो।

तर, उनलाई ठक्कर दिने गाडीको पहिचान अझै हुन नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपककुमार रायले जानकारी दिए।

‘स्थानीयले बिहीबार बिहान ६ बजेदेखि नै राजमार्ग अवरुद्ध पारिरहेका छन्,’ डीएसपी रायले भने, ‘हामी लिम्बूलाई ठक्कर दिने गाडीको पहिचानको प्रयासमा लागेका छौँ। तर, अझै गाडी पत्ता लाग्न सकेको छैन।’

उनले ठक्कर दिने गाडीको पहिचान नहुँदा समस्या भएको बताए। मृतकका परिवार र स्थानीयले ठक्कर दिने गाडीका चालकलाई पक्राउ गरेर पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेर सडक अवरुद्ध गरेका हुन्।

 

सम्बन्धित समाचार