काठमाडौं । मौसम बदली भएसँगै वर्षाका कारण क्रमशः तापक्रम केही घट्न थालेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वक्षेत्रमा यो दुई दिन अलि बढी वर्षा भएकाले तापक्रम घटेका छ । अन्य क्षेत्रमा तातो नै रहे पनि क्रमशः केही घट्ने जनाइएको छ ।
महाशाखाका मौसमविद् रोजन लामिछानेले पूर्वमा तापक्रम घटिसकेको र पश्चिमतर्फ अझै तापक्रम बढी नै रहे पनि क्रमशः घट्ने क्रममा रहेको बताए । पूर्वभन्दा पश्चिममा बढी तातो हुने उनको भनाइ थियो ।
मौसमविद् लामिछानेले पछिल्लो केही घण्टामा काठमाडौं उपत्यकासहित झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ खोटाङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, काभ्रे, नुवाकोट, गोरखा र मकवानपुरमा वर्षा भएको जानकारी दिए ।
यो क्रम बिहीबार र शुक्रबार पनि जारी रहने छ । जसका कारण हिजोआजको भन्दा बिहीबार र शुक्रबारको तापक्रममा गिरावट आउने पनि उनको भनाइ थियो ।
ठूलो र देशैभरि एकैनासको वर्षा गराउने प्रणाली भने नभएको पनि महाशाखाले जनाएको छ । तर, दिउँसोको समयमा गर्मी महसुस हुने जनाइएको छ ।
महाशाखाले बुधबार साँझ सूचनामार्फत भनेको छ, ‘यो सूचना जारी गर्नुभन्दा तीन घण्टादेखि कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम र एक दुई स्थानमा भारी वर्षा मापन भएको छ, सो वर्षा गराउने प्रणाली दक्षिण पश्चिमतर्फ सर्दै गइरहेकाले आसपासका क्षेत्रमा समेत मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको छ, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा समेत हल्का वर्षा भएको र बाँकी स्थानमा समेत बदलीको क्रम बढ्दै वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।’