काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको बताएका छन् ।
पार्टीको बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त प्रकरणबारे गहन अनुसन्धान आवश्यक रहेको बताएका हुन् ।
कानुनी उपचारमा जान कानुनविद्सँग परामर्श भइरहेको जानकारी दिँदै उनले भने, ‘अख्तियार अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ, अनुसन्धान हुँदै जाला, मैले अनुसन्धान हुनु हुँदैन भनेको छैन, म सुशासनको पक्षपाती हुँ, तर, मैमाथि यो किसिमको आरोप लागेको छ, यसको कानुनी उपचार हुन्छ ।’
पूर्वप्रधानमन्त्री तथा अध्यक्ष नेपालले आफ्ना कानुनविद्ले एक हजार पृष्ठको पुराना दस्तावेजहरु अनुसन्धान गरिरहेको जानकारी दिए ।
पार्टी उपाध्यक्ष गंगालाल तुलाधरले लोकतन्त्र र संविधानको रक्षा तथा देश र जनताको हितका पक्षमा स्थापना गरिएको पार्टी सुशासन कायम गर्न प्रतिबद्ध रहेको विचार व्यक्त गरे ।