काठमाडौं । हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश लगायत देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
कोशी प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया सफादेखि आंशिक बदली रहने छ । कोशी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भागका एक दुई स्थान मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । यस कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।