काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएका थप नेपाली आइतबार काठमाडौं आइपुग्ने भएका छन् । उनीहरूलाई अमेरिकाले चार्टर्ड विमानमार्फत् काठमाडौं ल्याइदिने भएको हो ।
अध्यागमन कार्यालय स्रोतका अनुसार नेपाली सवार अमेरिकी चार्टर्ड विमान आइतबार अपराह्न सवा चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको हो ।
सुरुमा ४८ जना नेपालीलाई डिपोर्ट गर्ने तयारी गरिए पनि पछि केही रोकिएकाले ४० जना भएको अनुमान गरिएको हो ।
अमेरिकाले चार्टर्ड गरेको विमान डिपोर्ट गरिएका विभिन्न देशका नागरिकलाई छाड्दै आज अपराह्न सवा चार बजे काठमाडौं आइपुग्ने र फर्किने छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो पटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीमाथि कडाइ गर्दै आएको छ । भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकालाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरुकै देश फर्काइरहेको छ ।
अमेरिकी सरकारको सोही नीतिअनुसार नेपालीहरुलाई पनि डिपोर्ट गर्दै आएको छ ।