काठमाडौं । अमेरिकाले नेपालीलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा बन्द गरिदिएको छ ।
नेपालका लागि टीपीएसको मान्यता २०२५ अगस्त ५ राति ११ः५९ बजे अन्त्य हुने यूएस सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसको वेबसाइटले जनाएको छ ।
यो निर्णयसँगै टीपीएस मान्यता पाएर अमेरिकामा बस्दै आएका करिब ७ हजारभन्दा बढी नेपाली स्वदेश फर्किनुपर्ने भएको छ ।
डिपार्टमेन्ट अफ होमल्यान्डका सचिव क्रिस्टी नोएमले नेपालमा अब टीपीएसको कानुनी निष्कर्ष पूरा नहुने बताएको वेबसाइटमा उल्लेख छ ।
अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले नेपालको अहिलेको अवस्थाबारे समीक्षा र अन्य सरकारी निकायबीचको परामर्शपछि टीपीएस खारेज निर्णय भएको यूएस सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसको वेबसाइटमा भनिएको छ ।
‘तपाईं टीपीएस स्टाटसमा अमेरिका बसिरहनुभएको छ र यहाँ बस्ने अन्य वैधानिक आधार नभए नेपाल फर्किन तयार हुनुस्,’ सूचनामा भनिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अघिल्लो कार्यकालमा नेपाललाई टीपीएस खारेज प्रक्रिया अघि बढाइएको थियो । नेपालमा ७२ भूकम्पपछि अमेरिकी सरकारले त्यसबेला कागजातबिनै बसेका नेपालीलाई टीपीएस सुविधा दिएको थियो ।