काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा भएको तोडफोड तथा अन्य पदाधिकारीको कार्यालयमा तालाबन्दी गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले एक प्रेस विज्ञप्ति जारी गर्दै विश्वविद्यालय जस्तो विशुद्ध प्राज्ञिक संस्थामा हिंसात्मक, गैरकानुनी र शैक्षिक क्यालेण्डरलाई बाधा पुर्याउने कुनै पनि कार्य निन्दनीय र भर्त्सनायोग्य रहेको जनाए । त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १७ ९३० अनुसार सहकुलपतिका हैसियतबाट शिक्षामन्त्री रघुजी पन्तले घटनाबारे सूक्ष्म अध्ययन गरिरहेको मन्त्रालयले जनाएको छ।
घटनाबारे अनुसन्धान गरेर कानुनी कारबाहीको दायरामा ल्याउन गृह प्रशासनको उच्च तहसँग परामर्श गरिरहेको सापकोटाले बताए । जेठ १४ गते उपकुलपति प्राडा खड्क केसीको कार्यकक्षमा तोडफोड गरिएको थियो ।
त्यसका साथै विद्यार्थी सङ्गठनहरूले उपकुलपतिसहित रेक्टर र रजिस्ट्रारको कार्यालयमा समेत तालाबन्दी गरेका छन्।