काठमाडौं । हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मनसुन कोशी प्रदेशका अधिकांश भागमा विस्तार भएको छ ।
दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेशका एक दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी, मधेस र बागमती प्रदेशका केही स्थान र गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भागको एक दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र मधेस प्रदेशका एक दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ ।
कोशी र मधेसमा धेरै वर्षा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।