आगामी आर्थिक वर्षमा धादिङलाई साढे पाँच अर्ब बजेट, कुन स्थानिय तहलाई कति ?

0 Shares

काठमाडौँ । दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेसहित सत्ता समीकरणबाट बनेको सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले गत जेठ १५ गते आगामी वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड बजेट सार्वजनिक गरे ।

सोही अनुसार अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण (प्रदेश र स्थानीय तह) २०८२/८३ अनुसार कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीको जिल्ला धादिङमा आगामी आर्थिक बर्षको बजेटमा ५ अर्ब ४३ लाख रुपैयाँ बजेट छुट्टाइएको छ ।

कृषिमन्त्री अधिकारीको धादिङको दुई नगरपालिकाले १ अर्ब ८ करोड ६९ लाख रुपैयाँ बजेट पाएका छन् । यस्तै ११ वटा गाउँपालिकालाई ३ अर्ब ९१ करोड ७४ लाख रुपैयाँ बजेट छुट्टाइएको छ । यो बजेट अनुसार प्रति नगरपालिका ५४ करोड ३४ लाख र प्रति गाउँपालिका औसतमा ३५ करोड ५४ लाख हुन आउँछ ।

विवरण अनुसार कृषिमन्त्री कै निर्वाचन क्षेत्र रहेको निलकण्ठ नगरपालिकाले ७२ करोड ७१ लाख रुपैयाँ पाउँदा अर्को नगरपालिका धुनिबेशीले भने ३५ करोड ९८ लाख रुपैयाँ मात्र पाएको छ । दुई नगरपालिका बिचको अन्तर ३६ करोड ७३ लाख रुपैयाँ रहेको छ ।

गाउँपालिकामध्ये सबैभन्दा बढी बेनिघाट रोराङ गाउँपालिकालाई ४९ करोड ७ लाख र सबैभन्दा कम रुवीभ्याली गाउँपालिकालाई २१ करोड ९५ लाख बजेट विनियोजन गरेको छ ।

यसैगरी गाउँपालिकामध्ये दोस्रो ठूलो बजेट थाक्रे गाउँपालिकाले पाएको छ । सो गाउँपालिकालेले ४० करोड ६ लाख रुपैयाँ बजेट पाएको हो । सिद्धलेक गाउँपालिकाले ३९ करोड ९७ लाख रुपैयाँ बजेट पाएको छ ।

यस्तै चौथो ठूलो बजेट हात पारेको त्रिपुरा सुन्दरी गाउँपालिकाले ३९ करोड ७७ लाख रुपैयाँ पाएको छ भने गंगाजमुना गाउँपालिकाले ३८ करोड ४१ लाख रुपैयाँ र ज्वालामुखी गाउँपालिकाले ३८ करोड ३६ लाख रुपैयाँ बजेट पाएका छन् ।

आगामी आर्थिक वर्षका लागि गजुरी गाउँपालिकाले ३५ करोड ४५ लाख रुपैयाँ बजेट पाएको छ । यस्तै गल्छी गाउँपालिकाले ३४ करोड ८१ लाख रुपैयाँ, नेत्रबती डबजोङ्ग गाउँपालिकाले २८ करोड ७८ लाख रुपैयाँ र खनियाँबास गाउँपालिकाले २५ करोड ११ लाख रुपैयाँ बजेट पाएको छ ।

सम्बन्धित समाचार