काठमाडौं । पोखरा पर्यटन परिषद्ले फेवातालको सीमांकनका नाममा दीर्घकालीन बिना योजना पोल गाड्न थालिएको भन्दै ध्यानाकर्षण गराएको छ ।
परिषद्ले पत्रकार सम्मेलन गर्दै फेवातालको सीमांकन भन्दै बिना योजना पोल गाड्न थालेकामा विरोध गरेको हो ।
परिषद्ले बिना योजना ६५ मिटर मापदण्ड लगाउँदा पर्यटन केन्द्र लेकसाइड मासिने खतरा रहेको भन्दै लेकसाइड मासेर पोखरा पर्यटनको राजधानी नबन्ने जनाएको छ ।
सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न बनेको सहजीकरण समितिले शनिबारदेखि फेवातालको साँधमा भौतिक पोल गाड्न सुरु गरेपछि स्थानीयवासीले त्यसको विरोध गरेका परिषद् अध्यक्ष तारानाथ पहारीले बताए ।
राज्यले जग्गाको सीमांकन गर्दा जग्गाधनीसँग सहमति लिनुपर्ने बताउँदै उनले सहमति तथा उचित मुआब्जा बिना कसैलाई विस्थापित गर्न नमिल्ने बताए । मुआब्जा दिन नसकिए ६५ मिटरको साटो ३० मिटर मापदण्ड लगाउनु उचित हुने पहारीको भनाइ छ ।
परिषद्का पूर्वअध्यक्ष सूर्य भुजेलले छ महिनाभित्रमा फेवाताल संरक्षणको काम सक्न भनेर सर्वोच्च अदालतको आदेश आएको दुई वर्षपछि मानहानीको गालबाट बच्न पोल गाडिएको बताए ।
चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोला, परिषद्का महासचिव जीवनराज सापकोटा लगायतले स्थानीयवासीको सहमतिमा सीमांकनको विषय टुङ्ग्याउनुपर्ने आवश्यकता औँल्याए ।
सन् १९५० को माउण्टेन टुरिजम हुँदै १९६० को हिप्पी टुरिजमदेखि सुरु भएको पर्यटन क्षेत्रको लगानी ड्यामसाइड गौरीघाट हुँदै हाल लेकसाइडको मुख्य क्षेत्र बाराही चोक, हल्लनचोक, खहरे हुँदै खपौदीसम्म होटल, रेष्टुराँ, गेष्ट हाउस तथा ट्राभल्स ट्रेकिङ आदिमा अर्बौं लगानी भएकोे पत्रकार सम्मेलनमा जानकारी गराइयो ।