काठमाडौं । सरकारले गत चैत १५ मा काठमाडौंको तीनकुनेमा राजावादी आन्दोलनमा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा आक्रमण गरी लुटपाटमा संलग्न ११ जनाविरुद्ध आपराधिक उपद्रवको मुद्दा चलाउने भएको छ ।
उनीहरूविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ को व्यवस्थाअनुसार ११ जनालाई आपराधिक उपद्रवको मुद्दा चलाएको हो ।
भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोर प्रा.लि.को तर्फबाट प्रबन्ध निर्देशक मीनबहादुर गुरुङको जाहेरी र प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आइतबार मुद्दा दायर गरेको हो ।
उनीहरूविरुद्ध आपराधिक उपद्रव गरी नोक्सानी पुर्याएको अभियोगमा तीन वर्षसम्मको कैदसँगै ३० हजारसम्म जरिवाना माग गरिएको छ । घटनामा संलग्न भएको आरोपमा चार जना बालकलाई प्रतिवादी बनाएर भक्तपुर बाल अदालतसमक्ष छुट्टै आरोपपत्र पेश गरिएको छ ।
उनीहरूले तोडफोड, आगजनी तथा लुटपाट गर्दा ८० लाख ३३ हजार बराबरको क्षति भएको भाटभटेनी सुपरमार्केटका सञ्चालकले माग दाबी छ ।
जसमा प्रतिवादी बनाइएका व्यक्तिबाट बरामद भएर आएका लिपिस्टकलगायतका सामान बजार मूल्य २ लाख ४३ हजार ८७४ रुपैयाँ रहेकाले उक्त रकम घटाएर ७७ लाख ८९ हजार रुपैयाँ प्रतिवादीबाट भराइ गर्न माग दाबी गरिएको छ ।