काठमाडौं । गृहमन्त्री रमेश लेखकले संवैधानिक निकायबाट जुनसुकै बेला कर्मचारीमाथि अनुसन्धान हुनसक्ने बताएका छन् ।
उनले गृह मन्त्रालयअन्तर्गत हजारौँ कर्मचारी रहेकाले कुनै कर्मचारीमाथि अनुसन्धान हुनेबित्तिकै मन्त्रीले राजीनामा दिनुपर्ने कुरा राम्रो नजिर नबसाल्ने जिकीर गरे ।
गृहमन्त्री लेखकले भने, ‘गृह मन्त्रालयमा हजारौँ कर्मचारी छन्, यहाँ रहेका कुनै पनि कर्मचारीमाथि संवैधानिक निकायले जुनसुकै बेला अनुसन्धान गर्नसक्छ, के त्यसो हुँदा सबै मन्त्रीले राजीनामा दिँदै जाने हो ? के त्यही पद्धति बसाउने हो ? त्यो सम्भव छ ? त्यस कारण मैले भनिसके मेराविरुद्ध राजनीतिक र नियोजित रूपले षड्यन्त्रमूलक ढंगले झुट्टा प्रचारबाजी भइरहेको छ ।’
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा ‘भिजिट भिसा’का विषयमा मात्रै होइन, आफ्नो राजनीतिक र सार्वजनिक जीवनमा आर्थिक अनियमितता गरेको विषय प्रमाणित भए आफूले राजनीतिबाटै अलग्गिने बताए ।
उनले भने, ‘यसर्थ मेराविरुद्ध नियोजित र षड्यन्त्रमूलक ढंगबाट झुट्टा प्रचारबाजी भइरहेको छ, यस विषयमा विस्तृत धारणा राख्न आगामी जेठ १३ गतेको प्रतिनिधिसभा बैठकमा समय माग गरेको छु ।’
यसअघि आजै गृह मन्त्रालयले पनि प्रेस विज्ञप्ति जारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर समाचार प्रकाशित र प्रसारित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।