खानेपानी अभाव हुँदा दगातुन्डाँडाका बासिन्दा बसाइँ सर्न बाध्य

0 Shares

काठमाडौं । दश वर्षअघि बागलुङ बडिगाड गाउँपालिका दगातुन्डाँडामा प्रारम्भ भएको ‘एक घर, एक धारा’ योजना हालसम्म पूरा हुन सकेको छैन । जसका कारण ३८० परिवार काकाकुलको नियति भोग्न बाध्य भएका छन् ।

योसँगै दगातुन्डाँडाका बासिन्दा खानेपानीका कारण बसाइँ सर्न थालेका छन् । विसं २०४८ सालमा ल्याइएको खानेपानीको सार्वजनिक धारामार्फत ७०० घरपरिवार लाभान्वित गाउँमा २०७२ सालमा सोही खानेपानी मुहानमा ३८० घरलाई धारा पुर्याउन नयाँ योजना थालिएको थियो ।

२५ वर्ष पुरानो योजना जीर्ण बनेपछि ‘एक घर, एक धारा’ निर्माण प्रारम्भ भए पनि १० वर्षसम्म पूरा नभएपछि स्थानीय आक्रोशित बनेका छन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट नयाँ योजनामार्फत ३८० घरलाई खानेपानी पुर्याउने प्रयास प्रारम्भ भए पनि बजेट अभावमा १० वर्ष बित्दा योजना पूरा नभएको हो । खानेपानी अभावमा स्थानीय बसाइँ हिँड्न थालेको दतातुन्डाँडाका पूर्वप्रधानपञ्च प्रेमलाल सापकोटाले बताउँछन् ।

‘तारेभिरको मुहानको खानेपानी १३ किलोमिटर तलको गाउँमा आएपछि दगातुन्डाँडावासीलाई २०४८ सालमा राहत मिलेको थियो, तर योजना २५ वर्ष पुरानो भएपछि ‘एक घर, एक धारा’ योजना ल्याइएको थियो, योजना थालेको १० वर्षसम्म पूरा भएन,’ उनले भने ।

स्थानीयको मागअनुसार वडाभर एक घर, एक धारा निर्माणका लागि योजना २०७२ सालमा थाले पनि बजेट अभावमा खानेपानी योजना अपूरै रहँदा समस्या भएको स्थानीय भीमलाल पोखरलले बताए ।

दुर्लुङ, रायाँ, हमेल, नौतुवा, बेतनी, भट्टनी, थान, ढाँड, प्यालपोखरी, तुन्डाँडा, दगाको सबै गाउँ, जिमी, टुटीफेद र गहते गाउँका स्थानीयका ३८० घरमध्ये अहिलेसम्म १६७ घरमा मात्र धारा पुगेको छ । जसमा पानी वितरणमा ढिलाइ भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर सुदीप आचार्यले जानकारी दिए ।

स्थानीयको श्रमदानसहित पाँच करोड लागत अनुमान गरिएको तारेभिर खानेपानी आयोजनामा हालसम्म दुई करोड ४५ लाख बजेट खर्च भइसकेको छ । आव २०७२/७३ देखि सुरु भएको योजनामा हालसम्म आठ वटा पानी संकलन ट्यांकी, १३ किलोमिटर मुख्य पाइपलाइन, आठ किमी वितरण पाइपलाइन तयार भएको इञ्जिनियर आचार्यले बताए ।

चालु आवमा १३५ घरमा धारा जडान गर्ने र ३८० घरमध्ये २३५ घरमा पानी आपूर्ति गरिने उनले बताए ।

सम्बन्धित समाचार