काठमाडौं । जगदुल्ला हाइड्रोपावर ठेक्का प्रक्रियाविरुद्धको रिटमा उच्च अदालत पाटनले खरिद प्रक्रियाको सक्कल फाइल मगाउने आदेश गरेको छ ।
मंगलबार न्यायाधीशद्वय खडानन्द तिवारी र प्रकाश खरेलको संयुक्त इजलासले खरिद प्रक्रिया मूल्यांकन गरिएका निर्णयसम्बन्धी सक्कल फाइल झिकाउन आदेश गरेको हो ।
उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ डोल्पामा निर्माण सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत् आयोजनामा सार्वजनिक खरिद ऐनविपरीत टेन्डर प्रक्रिया अघि बढाइएको भन्दै सिउ इन्फास्ट्रक्चर लिमिटेड र हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सनले वैशाख २२ गते रिट दायर गरेका थिए ।
उक्त रिटमाथि सुनुवाइ गर्दै वैशाख २३ गते उच्चका न्यायाधीश टंकप्रसाद गुरुङको इजलासले १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश जारी गरेको थियो।
यस्तै उच्चले अन्तरिम आदेशका लागि निवेदक कम्पनीको आन्तरिक लेखा परीक्षणको क्रममा भएको परीक्षण तथा मूल्यांकनको कार्य सम्बन्धमा विपक्षी समितिले जानकारी नदिएको र सो कार्य सम्बन्धमा निवेदक कम्पनीको स्पष्टता तथा समुचित जानकारी आवश्यक रहेकाले दुवै पक्षलाई छलफलमा बोलाएको थियो । उक्त विवादमा जेठ २ गते अर्को पेसी तोकिएको छ ।