काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बहसका लागि छानबिन समितिको कार्यालयमा आउन चुनौति दिएको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री लामिछानेलाई बहसका लागि छानबिन समितिको कार्यालयमा आउन निम्तो दिएका हुन्।
यसअघि गृहमन्त्री लामिछानेले सहकारी प्रकरणमा आफू निर्दोष रहेको र बहसका लागि जुनसुकै ठाउँमा बोलाए पनि आफू जान तयार रहेको अभिव्यक्ति दिएका थिए। उनले आफूलाई निर्दोष करार गर्न हतार नगर्न गृहमन्त्री लामिछानेसँग आग्रह पनि गरे।
‘कसैलाई दोषी करार गर्न पाइदैन। रोष्ट्रममा उभिएर कसैलाई निर्दोष भनेर अदालत फैसला सुनाएझै सुनाउन पाइदैन। प्रधानमन्त्रीले भन्नुभयो गृहमन्त्रीमाथि जे विषय छ उहाँ निर्दोष हुनुहुन्छ। केही सांसदहरूले पनि उहाँ निर्दोष हुनुहुन्छ भन्नुभयो। अखबर र वीरवलको कथामा चोरको दाह्रीमा सिन्को भनिसक्दा हत्त न पत्त दाह्री छामेजस्तो कि गर्नु भएको हो प्रधानमन्त्रीजी देखि लिएर अरूहरूले मैले बुझ्न सकिन।
गृहमन्त्रीजीलाई पनि त्यहाँ उभिएर ठूलो स्वरमा भन्न मन छ कि म निर्दोष छु भनेर । संयोगबस दाह्री पाल्नु भएको छ। दाह्री छाम्न हतार नगर्नुहोस्। म भन्न चाहन्छु। को दोषी को निर्दोष भनेर यहाँबाट छुट्याउने विधि होइन। न्याय पद्धतिमा कतै उल्लेख छैन। छानबिन समिति बनाएर गृहमन्त्रीलाई निर्दोष सावित हुन पाउन जुन हक छ त्यो हक उहाँलाई दिइयोस्,’ उनले भने।