दम्पत्ति हत्याको अनुसन्धान गर्न कुकुरसहित विशेषज्ञ टोली घटनास्थल

0 Shares

काठमाडौं । पर्वतको जलजला गाउँपालिका २ मल्लाजमा वृद्ध दम्पति मृत भेटिएको घटनामा गम्भीर रुपमा अनुसन्धान सुरु भएको छ । अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिम प्राप्त कुकुरसहितको विशेषज्ञ टोली घटना स्थल पुगेको छ ।

स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र अन्दाजी ६७ वर्षीया श्रीमती कमला जिसी आज घरभित्रै मृत भेटिएका थिए । उनीहरूको हत्या भएको प्रारम्भिक अनुमानपछि प्रदेशबाट विज्ञ टोली बोलाइएको पर्वतका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए । उनीहरूको गएराति हत्या गरेको हुन सक्ने प्रहरीको भनाइ छ ।

‘गण्डकी प्रदेश प्रहरी कार्यालयबाट डाक्टर र कुुकुरसहितको विज्ञ टोली घटनास्थलमा आइपुगेको हो,’ प्रहरी नायब उपरीक्षक भुसालले भने, ‘घटनास्थल प्रहरीको नियन्त्रणमा छ ।’ घटना रहस्यमय देखिएकाल अनुसन्धान गर्न विशेषज्ञको टोली बोलाइएको उनले बताए ।

मृतक जिसी दम्पत्तिका दुई छोरा वैदेशिक रोजगारीको क्रममा कोरियामा छन् । एक छोरा म्याग्दीको बेनी बजारमा बस्दै आएका छन् । बेनीबजार पसल गरेर बस्ने जेठो छोरा रविन जिसीले घरमा बुबा आमालाई फोन गर्दा नउठेपछि छिमेकीलाई बुझ्न लगाएका थिए ।

छिमेकीले घरको ढोकामा चाँबी लगाएको सुनाएपछि छोरा रविन बेनीबाट गाउँ पुगेर घरको ढोका खोल्दा बुबा आमा मृत भेटिएका थिए । जलजला गाउँपालिका २ का वडाध्यक्ष प्रकाश जिसीले घरमा जिसी दम्पत्ति मात्र बस्ने गरेको बताए ।

‘सोमबार बेलुका ८ः३० बजेको समयमा सूर्य बहादुरले मलाई फोन गरेर घर नजिकको पाखोमा डढेलो लागेको जानकारी दिनु भएको थियो,’ उनले भने, ‘पाखोमा लागेको डढेलो निभाउँदै हुनु हुँदो रहेछ, मैले डढेलो निभाउन अरु मानिस चाहिन्छ ? भनेर सोध्दा, पर्दैन निभ्न लागेको छ भन्नु भएको थियो ।’

हरेक दिन बिहान आमासँग कुराकानी हुने भए पनि आज बिहान आमाको फोन नआएपछि आफूले फोन गर्दा नउठेको जेठा छोराले बताए ।

सम्बन्धित समाचार