काठमाडौं । ललितपुरको सातदोबाटो-हात्तीवन ओरालोमा कार दुर्घटना भएको छ । दुर्घटनामा कारले ठक्कर दिँदा बिजुलीको पोल भाँचिएर बीच सडकमा पुगेको छ ।
पोलमा ठोक्किएको कारमा सवार तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा म्याग्दी घर भएका ४० वर्षीय अमरध्वज पौडेल, ललितपुर गोदावरीका ३२ वर्षीय विशाल विक र सोही ठाउँका २९ वर्षीय मोसेफ लामिछाने छन् ।
उनीहरुको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरी जनाएको छ । विशालको अवस्था गम्भीर रहेको छ । उनको आईसीयूमा उपचार भइरहेको छ ।
ललितपुर प्रहरीका अनुसार राति ११ बजेर १० मिनेट जाँदा ललितपुर महानगर २८ हात्तीवनमा बा १५ च ७६५२ नम्बरको कार बिजुलीको पोलमा ठोक्किएको थियो ।
कारको अगाडिको भाग क्षतिग्रस्त भएको छ । तीव्र गतिमा रहेको कार आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको अनुमान छ ।
११ हजार भोल्टको करेन्ट प्रवाह हुने बिजुलीको तार टाँगिएको पोल नै सडकको बीच भागमा रहेकाले सवारी आवागमन बन्द गरिएको हो ।