वर्षाले सूर्यविनायक-साँगा सडकमा एकतर्फी सवारी सञ्चालन

0 Shares

भक्तपुर । गए रातिदेखिको वर्षाले अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक-जगाति सडकमा आवत जावत गर्न समस्या भएको छ ।

जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी निरीक्षक प्रदीप खत्रीले वर्षाका कारण भक्तपुरको सूर्यविनायक-जगाति हुँदै काभ्रेपलाञ्चोक जाने निर्माणाधीन सडक एकतर्फी रूपमा सञ्चालन गरिएको जानकारी दिए ।

भक्तपुर र काभ्रे जिल्ला जोड्ने राजमार्गमा छ लेनको सडक निर्माणमा ढिलाइ भएसँगै काभ्रेको साँगा र भक्तपुरतर्फ आउने सडकमध्ये भक्तपुर खण्ड वर्षाका कारण निकै जोखिम बढेसँगै अरनिको राजमार्ग एकतर्फी मात्र सञ्चालन गर्नु परेको जनाइएको छ ।

सडकमा सवारी साधन चिप्लिएर जोखिम बढेपछि काभ्रेबाट भक्तपुरतर्फ आउने सवारी साधन मात्र साँगबाट आउन दिएको उनले जानकारी दिए ।

उनका अनुसार भक्तपुर हुँदै काभ्रे जाने दुई पाङ्ग्रेलगायत हल्का चार पाङ्ग्रे सवारी साधन जगातिबाट च्याम्हसिं हुँदै ताथली-नाला सडकबाट बनेपा निस्कने गरी सवारी साधनलाई डाइभर्सन गरिएको छ ।

भक्तपुरबाट काभ्रे जाने ठूला मालवाहक सवारी साधनलाई भने सल्लाघारीको चौर र जगातिमै रोकिएको छ । सूर्यविनायक-धुलिखेल सडक खण्ड निर्माणाधीन अवस्थामा रहेका कारण साँगा खण्डमा हल्का वर्षाले पनि सडक हिलाम्मे हुने गरेको छ ।

गाडी चिप्लिएर सयौँ फिट तल खस्ने जोखिम रहेपछि सवारी साधनलाई एकतर्फी गरिएको हो । बाटो हिलाम्मे भएर चिप्लिन थालेपछि ठूला सवारीसाधन माथि उक्लनै नसक्ने, सडकमै भासिने गरेका छन् भने साना सवारी चिप्लेर लड्ने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार