काठमाडौं । हेटौंडा उपमहानगर १६ र १७ नम्बर वडा जोडिएको गैरीगाउँमा सडक भासिएर बेपत्ता भएको गाडी शनिबार दिनभर खोज्दा फेला परेन । गाडी भाँसिएको खाल्डोमा पानी सुकाएर खोजी गरिएको हो ।
बाँस डुबाएर गाडी पत्ता लगाउन खोजिएको थियो । तर, फेला पार्न नसकिएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पानी सुकाउने क्रममा वरपरको माटो खसेर खाल्डा पुरिँदै जाँदा खोजी कार्य जटिल बनेको थियो ।
प्रहरी, स्थानीयवासीको सहयोगमा भोलि पनि खोजी हुने प्रहरीले जनाएको छ । स्थानीय हरिराम राईको ना ४ च ४८३३ नम्बरको माछा बोक्ने गाडी सडक भासिएर डुबेको थियो ।
प्रहरीका अनुसार माछापालन गर्दै आएका राईको आफ्नै गाडी रहेको छ । उनले माछापालन गरिरहेको पोखरीमा पनि पानी सुकाएर गाडी खोज्ने भएको छ ।
गाडी भासिँदै गएपछि सडकमै पानीको दह बनेको थियो । गाडीका चालक र सहचालकले भागेर ज्यान जोगाएका थिए ।