बाल्टिमोर पुल दुर्घटना : जहाजमा भरिएको थियो विषाक्त पदार्थ तर श्रीलंकालाई जानकारी थिएन

0 Shares

काठमाडौँ । हालै अमेरिकाको बाल्टिमोरमा एउटा मालवाहक जहाज पुलसँग ठोक्किएर दुर्घटनाको शिकार बनेको छ । अहिले केहि संचारमाध्यमले पुलमा ठोक्किएको जहाजमा विषाक्त पदार्थ भरिएको र उक्त जहाज श्रीलंकाको कोलम्बो बन्दरगाहमा आउँदै गरेको दाबी गरिरहेका छन् ।

यस खुलासापछि श्रीलंका सरकारले जहाजमा कुन विषाक्त पदार्थ भरिएको थियो भन्ने थाहा नभएको बताएको छ । कोलम्बो बन्दरगाहका अधिकारीहरूका अनुसार जहाजले कोलम्बो पुग्न ७२ घण्टा अघि कन्टेनरको सामग्रीबारे जानकारी गर्नुपर्ने थियो। यस्तो अवस्थामा जहाजमा के भरियो भन्ने थाहा हुँदैन ।

कोलम्बो बन्दरगाह पछि अफ्रिका जाँदै थियो जहाज

सिङ्गापुरको झण्डा बोकेको कार्गो जहाज डाली गत मार्च २६ मा अमेरिकाको मेरिल्याण्डको बाल्टिमोरस्थित फ्रान्सिस स्कट ब्रिजसँग ठोक्किएपछि पूरै पुल भत्किएको थियो । अमेरिकी सञ्चारमाध्यमका अनुसार जहाजमा ७६४ टन विषाक्त पदार्थ र ५७ कन्टेनर भरिएको थियो। जहाज न्युयोर्क र नोर्फोक भर्जिनियाको बन्दरगाहमा रोकिएपछि श्रीलंकाको कोलम्बो बन्दरगाहमा रोकिने तय गरिएको थियो । यसपछि जहाज दक्षिण अफ्रिकाको केप अफ गुड होप जानुपर्ने थियो, जहाँ पुग्न कुल २७ दिन लाग्ने थियो।

श्रीलंकालाई विषाक्त पदार्थबारे जानकारी थिएन

सञ्चारमाध्यममा खुलासा भएपछि श्रीलंका पोर्ट्स अथोरिटीका अध्यक्ष किथ बर्नार्डले जहाजमा लोड भएका सामानको जानकारी बन्दरगाह पुग्नुभन्दा ७२ घण्टाअघि मात्रै दिइने बताए । यस्तो अवस्थामा जहाजमा कुन विषाक्त पदार्थ थियो भन्ने थाहा नभएको बताइएको छ । सूचना पाएपछि विषाक्त पदार्थ भएका कन्टेनरलाई प्रोटोकल अनुसार छुट्टाछुट्टै राखिने थियो । यो विषाक्त पदार्थ श्रीलंका भित्र पठाउने प्रश्नमा बर्नार्डले यसका लागि रक्षा मन्त्रालय र अन्य विभागबाट स्वीकृति लिनुपर्ने बताए ।

श्रीलंकाको केन्द्रीय वातावरण प्राधिकरणका प्रमुखले यस्तो विषाक्त पदार्थलाई देशभित्र ढुवानी गर्न अनुमति दिनु नहुने बताए। बाल्टिमोर पुल भत्किँदा बाल्टिमोरको बन्दरगाह बन्द रहेको छ र यसका कारण करिब आठ हजार रोजगारी प्रभावित भएको छ । यसका साथै दैनिक करिब २० लाख डलरको घाटा बेहोर्नु परिरहेको अमेरिकी यातायात मन्त्रीले यो जानकारी दिएका हुन् । एजेन्सीको सहयोगमा ।

सम्बन्धित समाचार