काठमाडौं । चितवनबाट झापातर्फ गइरहेको मे १ च ३०४० नम्बरको जीप उदयपुरको कटारी नगरपालिका ६ सोमबारेस्थित मदन भण्डारी मार्गमा बिहीबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय कटारीका प्रमुख कमल बजगाईंका अनुसार, दुर्घटनामा मृत्यु हुनेमा झापा जिल्ला दमक नगरपालिकाका न्यायिक समितिका कानुन अधिकृत ५५ वर्षीय माधव बस्नेत रहेका छन् ।
घाइते हुनेमा दकम नगरपालिका १० का वडाध्यक्ष राजेन्द्र भण्डारी, दमक ६ का वडा सदस्य कमल श्रेष्ठ, दमक १ का ४५ वर्षीय ज्ञानेन्द्र गौतम, गौरादह नपाका ५४ वर्षीय भुवन दाहाल, चालक ३८ वर्षीय देवेन्द्र तामाङ छन् ।
घटनामा गम्भीर घाइते भएका माधवको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । अन्य पाँच घाइतेलाई साँझ नै विराटनगरस्थित न्यूरो अस्पताल थप उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।