आन्दोलनरत शिक्षक र चिकित्सकको पक्षमा उभिए विपक्ष पाँच दल

0 Shares

काठमाडौं । लामो समयदेखि काठमाडौंमा केन्द्रित आन्दोलन गरेका शिक्षकको पक्षमा विपक्ष पाँच दल उभिएका छन् ।

शिक्षकहरूको २७ औँ दिनसम्म सडक आन्दोलन हुँदासमेत सरकारले कुनै गम्भीर कदम नचालेपछि पाँच दलले सोमबार संसदको जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रमुख सचेतक सन्तोष परियार, नेकपा एकीकृत समाजवादी संसद शेरबहादुर कुँवर, राष्ट्रिय जनमोर्चा नेपालका सांसद चित्रबहादुर केसी र आम जनता पार्टीका सांसद प्रभु साह शिक्षक र चिकित्सको पक्षमा उभिएका हुन् ।

शिक्षाको समग्र उन्नयनका लागि महत्वपूर्ण माग राखेर स्थानीय तह हुँदै प्रदेश, राजनीतिक दलको केन्द्रीय कार्यालय, शिक्षा मानव स्रोत विकास केन्द्र हुँदै रिले अनसनपछि काठमाडौंमा सडक आन्दोलनमा हुँदासमेत सरकार कुनै गम्भीर नभएको माओवादी केन्द्रका एक सांसदले बताए ।

लामो समयदेखि आफ्नो पेसागत हक अधिकारका लागि आन्दोलनरत चिकित्सकको आवाजलाई सरकारले वेवास्ता गर्दै आएको माओवादी केन्द्रका एक सांसदले बताएका हुन् । यो दर्तासँगै संसदमा सांसदहरूले बहस गरेर आन्दोलनबारे राय धारणा राख्न पाउने छन् ।

जरुरी सार्वजनिक महत्वको प्रस्तावमा सरकार र नेपाल शिक्षक महासंघबीच गरिएका सम्झौता कार्यान्वयन गर्न, सार्वजनिक विद्यालयलाई गुणस्तरीय बनाउन, लाखौँ विद्यार्थीको पठनपाठन सुरु गर्न गराउन, निर्धारित समयमा परीक्षा सञ्चालन गर्न यसले साथ दिने विश्वास गरिएको छ ।

यस्तै, चिकित्सा शिक्षा आयोगले गरेको निर्णय कार्यान्वयन गराउन र स्वास्थ्य सेवालाई गुणस्तरीय र सुलभ बनाउन भनिएको छ ।

सम्बन्धित समाचार