काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कामु गभर्नर निलम तिम्सिना ढुंगानालाई निर्देशन दिएका छन् ।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गभर्नर नियुक्ति चाँडो गर्न निर्देशन दिएसँगै अर्थमन्त्रीले ढुंगानालाई मन्त्रालयमा बोलाएर निर्देशन दिएका हुन् । स्रोतका अनुसार कामु गभर्नर ढुंगाना मन्त्रालय पुगेकी थिइन् ।
सत्ता साझेदार दल कांग्रेस र एमालेबीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टलाई नयाँ गभर्नर नियुक्त गर्न देउवाले दबाब दिँदै आएका थिए ।
राष्ट्र बैंकको गभर्नर बन्ने भएसँगै कार्यकारी निर्देशकबाट भट्टले राजीनामा दिएका थिए । उनको राजीनामा ढुंगानाले स्वीकृत गरेकी छैनन् । कामु गभर्नर ढुंगाना आफैँ गभर्नरको प्रतिस्पर्धी हुन् ।
प्रधानमन्त्री ओलीको सत्ता ढल्ने हल्ला चलिरहँदा देउवा बालुवाटार पुगेका थिए । यस क्रममा उनले ओलीलाई गभर्नर नियुक्तिसँगै शिक्षक आन्दोलन सम्बोधन गर्न निर्देशन दिएका थिए ।