काठमाडौं । देश र जनताको हितमा काम गर्ने भन्दै दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले मिलेर बनेको सरकार नौ महिनामै धरापमा परेको छ ।
गभर्नर नियुक्तिमा ढिलाइ, शिक्षक आन्दोलन सम्बोधनमा आलटाल, न्यूनतम काममा अक्षमता प्रदर्शन, एकपछि अर्को बदनामी कमाउने कामले एमालेसँगको गठबन्धन सही हुन नसकेको कांग्रेस नेताहरू बताउँदै आएका छन् ।
असार ३० गते प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले ३१ गते मन्त्रिमण्डल विस्तार गरेका थिए । त्यसपछि देखिने गरी काम गर्न नसकेको भन्दै कांग्रेस नेताहरूले विकल्प खोज्नुपर्ने बेला आएको बताउँदै आएका हुन् ।
यसैबीच कार्यवहाक सभापतिसमेत रहेका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले समेत प्रधानमन्त्रीसँगको असन्तुष्टि सार्वजनिक रुपमा अभिव्यक्ति गर्दै आएका छन् ।
अब बस्ने केन्द्रीय कार्य सम्पादन समिति बैठकमा सरकारबारे समीक्षा हुने एक कांग्रेस नेताले जानकारी दिए ।
एक महिनासम्म नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गिजोलिँदा कांग्रेसमाथि थप आशंका उत्पन्न भएको छ । प्रधानमन्त्री ओलीकै चाहनामा गभर्नर नियुक्ति गिजोलिएको कांग्रेसको बुझाई छ ।
ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएर डा. गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति जुटेको एक साताभन्दा बढी भइसकेको छ । सहमतिपछि भट्टले वैशाख ५ गते राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिइसकेका छन् । तर, कायममुकायम गभर्नर नीलम ढुंगानाले उनको राजीनामा स्वीकृत गरेकी छैनन् । यसमा ओलीले खेलेको कांग्रेसले आशंका गरेको छ ।
यतिबेला देउवा उपचारका लागि भन्दै एक थाइल्याण्ड पुगेका थिए । उनी फर्किएपछि प्रधानमन्त्री ओलीसँग निर्णायक वार्ता हुने कांग्रेसभित्र आवाज उठेको छ ।
यसैबीच प्रधानमन्त्री अोलीले पनि सरकार लामो समय जान नसक्ने संकेत गरेका छन् । ‘नेकपा एमालेले सरकार बनाऔँ, सरकार बचाऔँ भनेर हेरिरहेको हुँदैन, नेकपा एमालेले सधैँ चुनाव हेरेको हुन्छ, हामीले ०७० को चुनाव भन्यौँ, ०८४ को चुनाव भनिरहेका छौँ, ढुक्कले मिसन ०८४ मा लाग्नुस्,’ बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने ।
यसैबीच, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बदलिने बताउँदै आएका छन् । बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा पनि उनले देउवा फर्किएपछि नयाँ समीकरण बन्न सक्ने संकेत गर्दै आफूहरूबीच फोनवार्ता भएको बताएका थिए ।
कांग्रेस सभापति देउवा र उनकी पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा आज स्वदेश फर्किँदै छन् । देउवा दम्पती शुक्रबार दिउँसो १२ बजे स्वेदेश फर्किने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।