कामको खोजीमा चैतसम्म ६ लाख युवाले देश छाडे

0 Shares

काठमाडौं । देशभित्र रोजगारीको अवसरको कमी हुँदा चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिना (साउन–चैत) मा कामको खोजीमा ६ लाख बढी युवा जन्मभुमी छाड्न बाध्य भएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार चैतसम्ममा ६ लाख ७ हजार ८७४ युवा विदेशिएका छन् । जसमा चैत महिनामा मात्रै ७३ हजार ४०३ युवाले श्रम स्वीकृति लिएका हुन् । फागुनसम्म यो संख्या ५ लाख ३४ हजार ४७१ थियो ।

तथ्यांक अनुसार यस वर्ष औसत मासिक ६७ हजार ५४१ युवाले कामको खोजीमा देश छाडेका छन् । दैनिक औसत यो संख्या २ हजार २५१.३८ हुन आउँछ ।

यस वर्ष साउनमा ५९ हजार ५७५ जना विदेशिएको तथ्यांक छ । भदौमा ५७ हजार ४९३, असोज ५३ हजार ५२५, कात्तिक ७० हजार ९९०, मंसिर ८४ हजार २२६ र पुसमा ६७ हजार २५८ जना विदेशिएका थिए ।

त्यस्तै माघमा ७२ हजार ४४१ र फागुनमा ६८ हजार ९६३ तथा चैतमा ७३ हजार ४०३ युवाले श्रम स्वीकृति लिएका छन् । चाडबाड लगत्तै नेपाली बढी विदेश जाने गरेको ट्रेन्ड दोहोरिएको छ । यस वर्ष सबैभन्दा धेरै नेपालीको गन्तव्य यूएई रहेको छ । चैत २०८१ मा मात्र २३ हजार ६७१ युवाले यस मुलुकका लागि श्रम स्वीकृति लिएको देखिन्छ ।

योसँगै ९ महिनामा यूएई जाने नेपालीको संख्या १ लाख ९६ हजार ९ सय २१ जना रहेको छ । यस वर्ष कुल १ सय ८ देशमा नेपाली श्रम स्वीकृति लिएर गएको देखिएको छ । यस वर्ष दोस्रो स्थानमा साउदी अरब र तेस्रो स्थानमा कतार छ ।

त्यसपछि मलेसिया र कुवेत लोकप्रिय गन्तव्यमा पर्छन् । यस वर्ष मलेसियाबाट नयाँ माग नआउँदा नेपालीको संख्या घट्दो टे«न्डमा रहेको छ । साइप्रस, बहराइन, जापान, कोरिया, रोमानिया, ओमान सहित देशमा धेरै नेपाली कामको खोजीमा पुगेका छन् ।

नेपालबाट विदेशिनेमध्ये अर्धदक्ष कामदारको बाहुल्य छ । यद्दपि, अदक्ष कामदारको विदेश यात्रा अझै रोकिन सकेको छैन । चैत महिनामा मात्र विदेशिएका ७३ हजार ४०३ मध्ये २१ हजार ६९५ युवा अदक्ष छन् ।

अर्धदक्ष युवा ४२ हजार ४ सय ५४ छन् । दक्ष कामदार संख्या ८ हजार ८९९ छ । व्यावसायिक कामदार २७७ र अतिदक्ष कामदार ७८ जनाले मुलुक छाडेको तथ्यांकमा देखिन्छ ।

सम्बन्धित समाचार